रातो मच्छिन्द्रनाथको रथजात्रा केही दिनको लागि स्थगित

काठमाण्डौँ - ललितपुरको रातो मच्छिन्द्रनाथको रथजात्रा केही दिनको लागि रोकिएको छ । रथ तान्ने क्रममा निकै ढल्किएकाले ललितपुर गुठी संस्थानले केही दिनका लागि रथजात्रा रोकेर रथ मर्मत गर्ने जनाएको हो । हिजो रथ ओकुबहालबाट लगनखेलसम्म तान्ने क्रममा निकै ढल्किएकाले रथलाई थपाहितीसम्म मात्र तान्न सकिएको थियो ।

रथयात्राको पहिलो दिन रथलाई पुल्चोकबाट तान्ने क्रममा नःटोलमा बिजुलीको पोलमा ठोकेसँगै रथ ढल्किन थालेको थियो । ललितपुर महानगरपालिका, गुठी संस्थान, बाराही, यंवा लगायतका रथजात्राका गुथियारहरुले रथको निरीक्षण गर्न लागेका छन् । रथ निरीक्षणपछि मात्र रथ मर्मतका लागि कति दिन लाग्छ भनेर भन्न सकिने रथ निर्माणमा संलग्न दिलकुमार बाराहीले बताएका छन् ।