नेपालबाट मनसुन बाहिरियो

काठमाडौँ - नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मन्सुन आजदेखि बाहिरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको हो । 

यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । यही असोज १९ गतेदेखि मनसुन क्रमिक रूपमा बाहिरिन सुरु गरेको थियो । यसैबीच, पश्चिमी न्यून चापीय प्रणालीको कारणले आज सोमबारदेखि नेपालको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।