नाम्चेको थामेमा भीषण बाढी : दूधकोसी आसपासका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह 

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय खोटाङले दूधकोसी आसपासका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, नाम्चेको थामेमा आजदेखि भीषण बाढी आएपछि सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

“दूधकोसीको शीरमा रहेको ताल फुटेको भन्ने प्रारम्भिक सूचना प्राप्त भएको छ,” जिल्ला प्रशासन कार्यालय खोटाङका प्रशासकीय अधिकृत शिवकुमार राईले शुक्रबार साँझ जारी गरेको सूचनामा भनिएको छ, “दूधकोसी किनारमा बसोबास गर्ने र अन्य कार्य गर्ने नागरिक सतर्क रहन अनुरोध छ ।”

बाढीले खोटाङ र ओखलढुंगाको कोसी किनारमा बसोबास गर्ने स्थानीय बासिन्दा जोखिम परेका छन् । दूधकोसीमा बाढी आउन लागेपछि खोटाङको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका र रावाबेँसी गाउँपालिकाले नदी आसपासमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।