जनताका निराशालाई चिर्दै सरकार अघि बढ्ने गरि साझा कार्यक्रम तयार गरेका छौँ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले जनताका निराशालाई चिर्दै सरकार अघि बढ्ने गरि साझा कार्यक्रम तयार गरिएको बताएका छन्।

शनिबार पार्टीको रौतहट–काठमाडौँ सम्पर्क मञ्चले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

भ्रष्टाचार अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्ने, विभिन्न स्रोत साधन परिचालन गरेर मुलुकलाई समृद्ध बनाउने विषयमा साझा न्यूनतम कार्यक्रममा उल्लेख रहेको उनले बताए।

अध्यक्ष नेपालले अहिले पदका लागि नभई मुलुकको समृद्धिका लागि सत्ता समिकरण परिवर्तन भएको धारणा राखे। नेपालले संविधानको पक्षपोषण र गणतन्त्रको रक्षाको भूमिका खेल्न सक्ने कांग्रेसलाई अहिले नै शत्रु घोषणा गर्ने कुरा कुनै हालतमा उचित नहुने जिकिर गरे।

उनले जेठ ३ देखि ७ गते सम्म पार्टीको १० औं महाधिवेशन गर्ने तयारीमा रहेको भन्दै तयारीको सिलसिलामा संगठन निर्माण र सदस्यता वितरणको देशव्यापी अभियानमा जुटेको बताए।