नेपाल र भारतबीच भएको सहमति र सम्झौताको दस्तावेज माग 

 काठमाडौँ - नेकपा एकीकृत समाजवादीले नेपाल सरकारले विभिन्न देशसँग गरेका सन्धी–सम्झौताको दस्तावेज माग गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको समाजवादीको सचिवालय बैठकले हालै नेपाल र भारतबीच भएको सहमति र सम्झौताकाबारेमा विभिन्न कोणबाट छलफल भइरहेको अवस्थामा सरकारले विभिन्न देशसँग गरेको सम्झौता सहमति लगायतका दस्तावेज माग गरि अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई सरकारमा रहेर गरेका कामकारवाहीको विवरण पार्टीलाई बुझाउन निर्देशन दिएको छ भने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउनका लागि सबैलाई एकजुट भएर लाग्न आह्वान गरिएको प्रवक्ता खतिवडाले जानकारी दिए ।