पशुपति जलहरी प्रकरण : तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा ३ लाख धरौटीमा छुटे

काठमाण्डौँ - पशुपतिमा सुनको जलहरी हाल्दा भ्रष्टाचार भएको मुद्दामा तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा ३ लाख धरौटीमा छुटेका छन् । 
पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव समेत रहेका थापासहित तीन जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

अख्तियारले थापासँगै तत्कालीन सदस्यसचिव प्रदिप ढकाल र स्टोरकिपर अरूणकुमार श्रेष्ठविरूद्ध मुद्दा दायर गरेको थियो। एक करोड १७ लाख १ हजार ७२१ रुपैयाँ बिगो मागदाबी गरी उक्त मुद्दा असोज १४ गते दर्ता भएको थियो ।

मुद्दा दर्ता भएयता फरार रहेका थापा पुस २५ गते विशेष अदालतमा हाजिर भएका थिए । त्यसदिन विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले ३ लाख धरौटीमा छाडेको सूचना अधिकारी एवं उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए । ढकाल र श्रेष्ठ भने अदालतमा हाजिर भएका छैनन् । उनीहरू फरार छन् ।