आज नेपालमा २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ - आज नेपालमा २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । विक्रम संवत १९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यकासाथ हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ ।

सरकारले सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षिता आवास निर्माणबारे आमनागरिकलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले २०५५ साल माघ २ गतेदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउदैँ आएको छ ।

भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र सङ्घसंस्थाले दिवसलाई जागरण फैलाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गर्दै आएका छन् । यस वर्ष ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नारा तय गरिएको छ ।