असंलग्न आन्दोलनको सम्मेलनमा सहभागी हुन युगान्डा जाँदै प्रधानमन्त्री दाहाल 

काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार पूर्वी अफ्रिकी देश युगान्डा जाँदै छन् । असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री युगान्डा जाने तय भएको हो  । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्रसचिव सेवा लम्साललगायत सहभागी हुनेछन् । 

मन्त्रिपरिषद् बैठकले मंगलबार प्रधानमन्त्रीको युगान्डा भ्रमण स्वीकृत गरेको छ । असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन ५ र ६ माघमा युगान्डाको राजधानी कम्पालामा आयोजना हुनेछ । असंलग्न राष्ट्रहरूको मन्त्रीस्तरीय बैठक ३ र ४ माघमा र उच्च पदाधिकारीहरूको बैठक १ र २ माघमा हुँदै छ । मन्त्रीस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री साउदले गर्नेछन् । उच्च पदाधिकारीहरूको बैठकमा सहभागी हुन परराष्ट्रसचिव लम्साल कम्पाला पुगिसकेकी छिन् ।