कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी लगायत समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

बैठक आज दिउँसो १२ः१५ बजे सानेपास्थित कांग्रेस मुख्यालयमा बस्नेछ । कांग्रेसका कार्यालयका मुख्यसचिव एवम् राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद पौडेलले बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीका विषयमा छलफल हुने जानकारी दिए । ‘बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्नेसहित गठबन्धन र सिट बाँडफाँडका विषयमा निर्णय गर्छ,’ उनले भने । 

पौडेलका अनुसार बैठकमा जाजरकोट भूकम्प र पार्टीको महासमिति बैठकको तयारीका विषयमा समेत छलफल गर्ने गरी एजेन्डा तय गरिएको छ । त्यस्तै, समसामयिक राजनीतिक विषयहरूमा समेत छलफल हुनेछ ।