एमालेको समृद्धिका लागि संकल्प यात्रा : आज दिनभर तेह्रथुममा

काठमाडौँ - नेकपा एमालेको जारी मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्रा टोली आज तेह्रथुमको वसन्तपुरबाट आठराई गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र सक्रान्ति बजार पुग्दै छ ।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार अहिले वसन्तपुरबाट सुरु हुने यात्रा तेह्रथुमको सदरमुकाम म्याङलुङमा पुगेर खाना खाने कार्यक्रम छ । उक्त स्थानमा स्थानीय बासिन्दा ,राजनीतिक दलका नेताहरू, जनप्रतिनिधिसँग भेटघाट तथा संक्षिप्त अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

त्यहाँबाट अघि बढ्ने यात्रा टोली तेह्रथुमकै औँसीडाँडामा स्थानीय बासिन्दासँग सो क्षेत्रका समस्या र विकासका सम्भावना बारे छलफल गर्ने तयारी छ । साँझ सक्रान्ति बजारमा पुगेर बास बस्ने प्रमुख गौतमले जानकारी दिए ।

आजको यात्रा दिनभर तेह्रथुम जिल्लाभित्रै हुनेछ । यात्रा टोलीले आज ९४ किलोमिटर दुरी पार गर्नेछ ।