लिबियामा आँधीका कारण पाँच हजारभन्दा बढीको मृत्यु, नेपाली शान्ति सैनिकको अवस्था कस्तो छ ?

 काठमाडौँ - पूर्वी लिबियामा डानिएल आँधीका कारण आएको विनाशकारी बाढीमा परी पाँच हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । भारी वर्षापछि दुईवटा बाँध फुटेर आएको बाढीले संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिबियामा तैनाथ नेपाली शान्ति सैनिकको शिविरमा भने कुनै क्षति पुर्‍याएको छैन ।

घटनास्थलबाट नेपाली शान्ति सैनिकको गार्ड युनिटको शिविर करिब एक सय १३ किलोमिटरको दूरीमा रहेकाले कुनै क्षति नभएको र सबै सुरक्षित रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार बाढीबाट हजारौँ बेपत्ता भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

भारी वर्षापछि दुईवटा बाँध फुटेकाले तटीय सहर देर्नाको एक चौथाइ क्षेत्र बाढीले बगाएको छ । नेपाली जनता र सेनाका तर्फबाट बाढीपीडित जनतालाई सहयोगका लागि त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकले केही औषधि र चिकित्सा सामग्री पठाएको छ । ती सामग्री संयुक्त राष्ट्रसङ्घ महासचिवका विशेष प्रतिनिधि र सहायक महासचिवमार्फत हस्तान्तरण गरिने छ ।