'अर्थतन्त्र योभन्दा कमजोर बन्ने ठाउँ छैन, अब चलायमान हुन्छ' : अध्यक्ष ढकाल

 काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आगामी दिनमा अर्थतन्त्र थप चलायमान हुने बताएका छन् । आज  काठमाडौंको नयाँ बानेश्वरमा अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको आइएनआई सिनेमा हलको उद्घाटन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्र योभन्दा पनि तल खस्किने ठाउँ नरहेको भन्दै अबका दिनमा अर्थतन्त्रले लय समात्ने बताएका हुन् ।

अध्यक्ष ढकालले व्यवसायिक क्रियाकलाप बढे मात्रै अर्थतन्त्र चलायमान बन्ने बताए । उनले कोभिड महामारीपछि अर्थतन्त्र कमजोर बन्दै गएको र व्यवसायिक माहौल बिग्रिँदै गएको अवस्थामा सिनेमा हल खुल्नुले आम मानिसमा सकारात्मक ऊर्जा थपिने बताए । अध्यक्ष ढकालले एउटा कलाकारले मेहनत गर्‍यो भने सिनेमा हलको मालिक पनि हुन सक्ने रहेछ भन्ने स्पष्ट सन्देश गएको बताए ।