मकवानपुरमा बञ्चरोले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

काठमाडौँ ।  श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका- ५ कालीखोलास्थित काफलडाँडा बस्ने २६ वर्षीय मंगलबहादुर पाख्रिन रहेको प्रहरीले जनाएको छ ।

सोमबार साँझ मंगलबहादुरले २० वर्षीया श्रीमती लक्ष्मी पाख्रिनको हत्यागरी कालीखोलास्थित सामुदायिक वनमा गाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मंगलबहादुरले श्रीमती लक्ष्मीलाई आफ्नै घरभित्र बञ्चरोले हानेर मारेका थिए। पछि शवलाई टुक्रा पारेर दुई वटा बोरामा हाली कालीखोलास्थित सामुदायिक वनमा गाडेका प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि मकवानपुर जिल्ला अदालत हेटौँडाबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ।