नेपालले यूएईसँग ‘बिग म्याच’ खेल्दै, हजारौँ समर्थक काठमाडौं आउँदै

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिम निकै ठूलो सफलतातर्फ लम्किरहेको छ । पूर्व खेलाडी र विश्लेषकले त नेपाली क्रिकेट अहिले इतिहासकै उत्कृष्ट लयमा रहेको र अहिलेसम्म नपाएको सफलता नजिक पुगेको बताएका छन् ।

नेपाल ऐतिहासिक सफलताको एक खुड्किलो मात्रै पछाडी छ । अब नेपालले विहीबार यूएईलाई हराएमा सोझै एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ । एकदिवसीय विश्वकप छनोटमा नेपालले श्रीलंका, दक्षिण अफ्रिका लगायतका देशहरुसँग खेल्न पाउनेछ ।

विश्वकप क्रिकेट लिग-२ मा नेपालले लामो समयसम्म खराब प्रदर्शन गर्‍यो । तर पछिल्ला एक महिनाका खेलमा नेपालले जादुमयी प्रदर्शन गरेको छ । लिगका पछिल्ला ११ वटा खेलमा नेपालले १० वटा खेल जितेको छ । ११ वटा खेलमा नेपालले टिमको तर्फ र व्यक्तिगत तर्फका थुप्रै रेकर्ड बनाएको छ ।

लिग-२ मा नेपालले ३५ खेलमा ३८ अंक जोडेको छ । नेपाल चौथो स्थानमा छ । नेपालले लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा बिहीबार यूएईसँग खेल्नेछ ।

यो खेल जितेमा नेपाल सिधा जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ । नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता सुरक्षित गरिसकेको छ ।

हजारौँ समर्थक काठमाडौं आउने तयारीमा

नेपालमा क्रिकेट समर्थकहरु दिनदिनै बढिरहेका छन् । नेपाली क्रिकेट नराम्रो लयमा रहँदा पनि समर्थकले मैदानमा पुगेर हौसला दिइरहेका हुन्छन । झन यसपटक त नेपाली क्रिकेट ऐतिहासिक सफलता नजिकै रहेको छ । त्यसैले समर्थकहरु निकै उत्साहित छन् ।