सुन जाँचबुझ आयोगको प्रतिवेदनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न शुक्रबार अपराह्न ५ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले सुनको तस्करी नियन्त्रणका विषयमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठन गरेको आयोगले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदन उपप्रधानमन्त्री लामिछानेले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् ।

छानबिनका क्रममा सीआईबीको अनुसन्धानका क्रममा गम्भीर लापरबाही र दोषीलाई उम्काउने खेल भएको पाइएको हो। सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले गरेको अनुसन्धानका क्रममा ६० किलो सुन तस्करीको अनुसन्धानमा सीआईबीले गम्भीर लापरबाही गरेको उल्लेख गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए ।

जो माथि अनुसन्धान गर्नु पर्ने हो उनीहरूलाई अनुसन्धान नै नगरी भएका प्रमाणसमेत नष्ट गर्न सीआइबीले भूमिका खेलेको देखिएको छ ।

सुन तस्करी नाइके दावा छिरिङसँग सम्बन्ध देखिएका जीवन चलाउने र चलाउनेसँग सम्बन्ध देखिएका पूर्व प्रहरी प्रमुखहरूलाई जोगाउन सीआईबीका अधिकारीहरूले प्रमाण नष्ट गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।