दाङको देउखुरीमा जिपको ठक्करबाट साइकलमा सवार दुई जनाको मृत्यु

घोराही - दाङको देउखुरीमा जिपको ठक्करबाट साइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ज्यान गुमाउने दुवै दिदीबहिनी हुन् । 

लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका–८ पिपरीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र३–०१०२२ च १३६९ नं को जिपले आज साँझ सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएपछि उक्त घटना घटेको हो ।

मृत्यु हुनेमा साइकलमा सवार प्युठानको झिमरूक गाउँपालिका–१ घर भई हाल राप्ती गाउँपालिका–८ पिपरी बस्दै आएकी ३५ बर्सिया राधा बस्नेत र उनकी बहिनी १६ बर्सिया बिपना केसी रहेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।