सर्वोत्तमको आईपीओ फागुन १३ देखि खुल्ने, न्यूनतम कति रुपैयाँ चाहिन्छ ? 

काठमाडौं - पहिलो पटक बुक बिल्डिङ पद्दतीबाट मूल्यांकन भई सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि फागुन १३ गतेदेखि प्राथमिक सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।

संस्थागत लगानीकर्ता, वैदेशिक रोजगारमा रहेका तथा प्रभावित स्थानीयका लागि बाँडफाँट भइसकेपछि कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । फागुन १३ देखि १६ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिने बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले एक सार्वजनिक सूचनामार्फत जनाएको छ । 

सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरमार्फत कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । कम्पनीले सर्वसाधारणका लागि कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसअघि प्रभावित स्थानीयका लागि खुलाइएको ९ लाख ३० हजार कित्ता सेयरमध्ये ६ लाख ८१ हजार ५३० कित्ता बिक्री नभएपछि सो समेत थप गरी सर्वसाधारणका लागि निष्कासन हुने भएको हो ।

बुक बिल्डिङ पद्दतीबाट सर्वसाधारणका लागि कम्पनीको आईपीओ मूल्य ३६० रुपैयाँ ९० पैसा निर्धारण भएको छ । यो पद्दतीबाट आईपीओ जारी गर्ने कम्पनीमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्छ । आईपीओ भर्न कम्तीमा १८ हजार ४५ रुपैयाँ चाहिने भएको छ ।