शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ । बुधबार सम्हालिएको शेयर बजारमा बिहीबार पुनः दोहोरो अंकको गिरावट आयो । तीव्र उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले ओराला लागेर २ हजार ६२ मा आएर थामियो ।

कारोबार ४ अर्ब तलै खुम्चियो । उत्पादनमूलक बाहेक सबै समूह ओरालो लागे । वित्त समूह सबैभन्दा उच्च ३ प्रतिशत बराबरले झर्दा अन्य समूह डेढ प्रतिशत बढी र विकास बैंक समूह झण्डै डेढ प्रतिशतले झरे । बाँकी समूहमा सामान्य गिरावट आयो ।

बिहीबार नेपाल स्टक एक्सचेन्जमा ३ सय ५ कम्पनीको १ करोड १४ लाख कित्ता शेयर ३ अर्ब ८७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । बिहीबार १ सय ६३ कम्पनीको मूल्य घट्दा जम्मा उनासीको बढ्यो ।

घटेको बजारमा पनि बोटलर्स नेपाल र समाज लघुवित्तका लगानीकर्ताले भने १० प्रतिशत कमाए ।