१४ किलो सुन प्रकरण : भन्सारका कर्मचारीमाथि अख्तियारले थप छानबिन गर्दै

काठमाडौँ - त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरणमा भन्सारका कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप छानबिन गर्ने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न अख्तियारलाई पत्र लेखेपछि आयोगले अनुसन्धान प्रकृया अघि बढाएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उक्त सुन तस्करी प्रकरणमा जोडिएका सरकारी कर्मचारीमाथि अनुसन्धान गर्नु पर्ने भन्दै पत्रचार गरेको हो ।

सरकारी वकिलको उक्त निर्देशनपछि अख्तियारले उक्त प्रकरणमा अनुसन्धान गर्ने जनाएको छ। सरकारी वकिलको कार्यालय, काठमाडौंले सुन बरामद र त्यसमा सरकारी कर्मचारीहरु समेत संलग्न भएको घटनामा अख्तियारमा फाइल पठाउन भन्सार कार्यालयलाई निर्देशन दिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले, २०८० मंसिर २१ गते राती फ्लाई दुवईको उडानबाट काठमाडौं आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरेको थियो ।