एमाले ‘संकल्प यात्रा’ को टोली आज धनकुटा पुग्दै, के-के छन् कार्यक्रमहरु ? 

धनकुटा - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’ को टोली आज कोशी प्रदेशको धनकुटा पुग्दैछ । एमाले मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित संकल्प यात्रा १५ औं दिनमा धनकुटा पुग्न लागेको हो ।

नेकपा एमाले धनकुटा प्रचार तथा प्रकाशन विभागले पत्रकार सम्मेलन गरेर यात्राका क्रममा धनकुटामा हुने सबै कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको छ । संकल्प यात्राको टोलीलाई बिहान लेगुवामा फूलमालासहित स्वागत गरेर जिल्ला प्रवेश गराइने एमाले धनकुटा अध्यक्ष इन्द्रमणि पराजुलीले जानकारी दिएका छन् ।

बिहान ९ बजेतिर टोली लेगुवा आइपुग्छ, टोलीमा सहभागि सबैलाई फूलमाला लगाएर हामीले जिल्लामा स्वागत गछौँ,’ अध्यक्ष पराजुलीले भने, ‘लेगुवा, पाख्रिबास, हिले, जोरपाटी र सिधुवामा कार्यक्रमहरू राखिएका छन्, त्यहाँका कार्यक्रमहरूमा सहभागि हुँदै टोली बसन्तपुर पुगेपछि त्यहाँ वृहत् आमसभा गर्ने तयारी गरेका छौं ।’

यात्राका क्रममा लेगुवामा एमाले अध्यक्ष ओलीसहितको टोलीले ज्येष्ठ नागरिकहरूसँग भेटघाट र पाख्रिबासमा कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकहरूसँग कृषिको सम्भावना र चुनौतीका विषयमा अन्तरक्रिया गर्नेछन् । अध्यक्ष ओलीले हिलेमा पार्क उद्घाटन गर्ने कार्यक्रम पनि तय गरिएको छ । सोही अवसरमा धनकुटा नगरपालिकाका प्रमुख तथा एमाले जिल्ला उपाध्यक्ष चिन्तन तामाङले धनकुटा नगरको कार्यप्रगति र भावी योजनाको विषयमा अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखिएको छ ।