एकीकृत समाजवादीको महमाधिवेशन प्रतिनिधि हुन ३ वर्ष पार्टीमा काम गरेको हुनुपर्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले  महाधिवेशन प्रतिनिधि हुनका लागि कम्तिमा ३ वर्ष पार्टीमा काम गरेको हुनुपर्ने जनाएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन–१४ (अपानी) मा पार्टी गठन हुनु अघिदेखिकै सदस्यतालाई मान्यता दिइने उल्लेख गरिएको छ ।

पार्टी केन्द्रीय कमिटी र केन्द्रीय आयोगका सदस्यहरू भने आयोजकको हैसियतमा प्रतिनिधि हुने अपानिमा उल्लेख गरिएको छ । यसअघि केन्द्रीय नेता पनि चुनिने निर्णय गरेको एकीकृत समाजवादी त्यसबाट पछि हटेको छ ।

भूगोलका संघीय निर्वाचन क्षेत्र र उपत्यका प्रदेश तथा सम्पर्क प्रदेशअन्तर्गतका जिल्ला कमिटीका कार्यक्षेत्रबाट १२५ संगठित पार्टी सदस्य बराबर एक प्रतिनिधिका दरले प्रतिनिधि छनोट गर्ने बुधबारको सचिवालय बैठकले निर्णय गरेको हो ।

प्रतिनिधि छनोटका लागि आचारसंहिता बनाइएको छ । जसमा प्यानलगत प्रतिस्पर्धा गर्न नपाइने जनाइएको छ । 

“१०औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चुनिनका लागि पार्टीको संगठित पार्टी सदस्यता प्राप्त गरी कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्नेछ । संगठित पार्टी सदस्यता प्राप्त मिति पूर्ववत् पार्टीमा संगठित सदस्यता प्राप्त गरेको मितिदेखिकै गणना हुनेछ,” अपानिमा भनिएको छ, “योग्यता नपुगेको व्यक्ति प्रतिनिधिमा छनोट भएमा प्रतिनिधि रद्द हुनेछ ।”