झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा खटिएका दुई प्रहरी पुरस्कृत  

काठमाडौँ । चिल्तडा पुलमा जोखिमपूर्ण रूपमा पुलमा अड्किएका खच्चडलाई उद्धारमा साहसिक कार्य गरेको भन्दै सुदूरपश्चिम प्रहरीले दुई जना प्रहरीलाई पुरस्कृत गरेको छ ।

इलाका प्रहरी चौकी कालेकाँडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामसिंह फराल र प्रहरी हवलदार गङ्गाराम चौधरी डगौरालाई नगदसहित सम्मान गरिएको हो ।

उच्च अनुशासनमा रही अदम्य साहसका साथ कर्तव्यनिष्ठ भई उल्लेखनीय कार्य सम्पन्न गरेको भन्दै दुई जनालाई सम्मान गरेको अछाम प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए । ‘हामीले पनि सम्मान गर्न भनेका थियौ, प्रदेशबाटै दुई जनालाई सम्मान गरिएको हो’ निरीक्षक साउँदले भने । सुदूरपश्चिम प्रदेश प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले दुई जना प्रहरीलाई प्रहरी अभिलेखमा जनाइने गरी पुरस्कृत गरेका हुन् ।

आइतबार अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडाबाट दैलेखको आठबिस नगरपालिका–४ खिड्किज्यूलामा खाद्यान्न लिन गएका १३ खच्चड झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेका थिए । पुलमा अड्केका खच्चडलाई फराल र चौधरी सहितको प्रहरी टोलीले जोखिमपूर्ण रूपमा डोरीको सहायताले कर्णाली नदीमा खसालेको थियो ।

करिब ८ घण्टा पुलमा फसेका खच्चडलाई कर्णाली नदीमा खसालिएका १३ मध्ये दुई खच्चर भने मरेका थिए । अन्यलाई उद्धार गरेर अहिले उपचार भइरहेको बताइएको छ ।