प्रधानमन्त्री नै सदनबाट भागेको कांग्रेसको आरोप, भारत भ्रमणबारे जानकारी गराउन माग

काठमाडौँ ।  प्रमुख प्रपिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंम सदनबाट भागेको आरोप लगाएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भारत भ्रमणबारे सदनलाई जानकारी नगराएर प्रचण्ड सदनबाट डराएर भागेको आरोप लगाए ।

उनले भने, ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको पनि एक साता भइसकेको छ । प्रतिपक्ष दल धैर्यतापूर्वक कुरेर बसेका थियौं भारतको भ्रमणबारे सदनमा आएर जानकारी गराउनुहोला भनेर । पाँच दिनसम्म यहाँ आउन सक्नुभएन ।’

लेखकले गृहमन्त्री लामिछानेले केही समयअघि कांग्रेस नेताहरूमाथि लगाएको आरोपको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्री सदनमा देखिराख्नुभएको छैन । केही समय पहिला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो सदनमै रहेको नेताहरूमाथि अत्यन्तै ज्यादा लाञ्छनापूर्ण आफ्ना अभिव्यक्तिहरू दिनुभयो । हामीले प्रधानमन्त्रीसँग उहाँले अभिव्यक्त गर्नुभएको कुरामा जवाफ दिनुपर्छ भनेर माग गरेका छौँ । मैले के विश्वास गरौँ हामीले माग गरेको विषयमा तयारी गरेर बस्नुभएको हो कि रु त्यो तयारी सकिएपछि मात्रै एकैचोटी जवाफ दिन्छु भनेर आउनुहुने हो कि रु अथवा त्यसको जवाफ दिन नसकेर डराएर भाग्न खोज्नुभएको हो कि रु मैले के अनुमान गर्ने ?’

साथै, राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणका बारेमा समेत सरकारले जानकारी गराउनुपर्ने कांग्रेसको माग छ ।

‘प्रधानमन्त्री यो सदनको नेता हो । हामीले उहाँ भ्रमणमा गएको पत्रिका पढेर थाहा पाउनुपर्ने ? यो दुर्भाग्य हो कि सौभाग्य हो । राष्ट्रपति बाहिर जानुभएको छ । यो पनि हामीले पत्रिका पढेरै थाहा पाउनुपर्ने हो ?’ उनले प्रश्न गरे ।

प्रधानमन्त्री राष्ट्रपतिको विदेश भ्रमणका सम्बन्धमा सभामुख देवराज घिमिरेले रुलिङ गर्नुपर्ने समेत कांग्रेसका प्रमुख सचेतक लेखकले माग गरे ।