शीर्ष नेताहरुबिचको वार्ता सम्पन्न : संसद्लाई प्रभावकारी बनाउने बिषयमा छलफल केन्द्रित 

काठमाडौँ - प्रधानमन्त्रीको आह्वानमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकबीचको छलफल सकिएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समिति गठन गर्ने विषयमा केन्द्रित भएको नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकमा सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई छिटो टुङ्गोमा पुर्‍याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्नेलगायतका विषयमा छलफल भएको थियो ।