प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य, के-के भए काम ?

 काठमाडौँ - प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । गत माघ २२ गते सोमबारदेखि प्रारम्भ भई आज वैशाख २ गतेसम्म २३ दिनमा २३ पटक गरी कूल ८१ घण्टा ५५ मिनेट बैठक बसी संसदीय काम कारबाही भएको थियो ।

यस अवधिमा गत फागुन ६ गते र चैत ६ गतेका बैठकहरूमा सञ्चालन भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रममा २६ जना सदस्यहरूले सोध्नुभएको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएका थिए ।

त्यस्तै सभाको पहिलो बैठकमा पेस भएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८०’ लाई गत फागुन ६ गतेको सभाको बैठकले स्वीकृत गरेको थियो ।

सभाको पहिलो बैठकमा मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्नेगरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा २ बमोजिम पेस भएको थियो।

चालु अधिवेशनमा गत फागुन ३० गतेको बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएको थियो।

सभाको दोस्रो अधिवेशनबाट यस अधिवेशनमा प्राप्त दुईवटा सन्धि सम्झौतामध्ये ‘विमस्टेक वडापत्र’लाई गत चैत २० गतेको सभाको बैठकले अनुमोदन गरेको थियो भने ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धको स्थापनासँग सम्बन्धित सम्झौता’माथिको सामान्य छलफल समाप्त भइसकेको छ।

त्यसैगरी गत फागनु १४ गतेको बैठकमा पेस भएको आर्थिक वर्ष २०८१(८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथि यही चैत १, ५, ६ र ७ गतेको सभाको बैठकहरूमा छलफल गरिएको थियो।