सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नाउपाका सांसद चौधरीले गरे दाबी पेश

काठमाडौँ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन्।

आइतबार दिउँसो प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

नाउपासहित नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र राप्रपाका गरी २७ सांसदको साथ आफूलाई रहेको चौधरीको दाबी छ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको साथ चाहिन्छ। चौधरीले आइतबार दिउँसो २ बजेर ५७ मिनेटमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

नाउपा संसदीय दल नेता घनश्याम चौधरी, नेपाली कांग्रेस संसदीय दल नेता कमलबहादुर शाह र एकीकृत समाजवादी संसदीय दल नेता दीर्घ सोडारीको हस्ताक्षर भएको पत्रसहित नाउपा सांसद चौधरीले सं‌विधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री दाबी पेस गरेका छन्।