२३ जिल्ला इन्चार्जसहित ७८ जना प्रहरी उपरीक्षकको सरुवा, धादिङमा गौतम कुमार केसी

काठमाडौँ - प्रहरी प्रधान कार्यालयले मंगलबार राति २३ जिल्ला इन्चार्जसहित ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ ।

सरुवा अनुसार झापामा मिलन केसीलाई पठाइएको छ । सर्लाहीमा कार्यरत प्रहरी उपरीक्षक प्रवीण धिताललाई नयाँ जिम्मेवारी दिइएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा सरुवा गरिएको छ ।

हिन्दु र मुस्लिमबिच तनाव भएपछि असोज २५ मा धिताललाई सर्लाहीमा पठाउने निर्णय गरिएको थियो । अहिले सर्लाहीमा दयानिधि ज्ञवालीलाई पठाउने निर्णय गरिएको छ। ज्ञावलाीले रुपन्देही सरुवा चाहेका थिए ।

नवराज कार्कीलाई मोरङमा सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा अपिलराज बोहरा, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी, कैलालीमा पदमबहादुर विष्ट र काभ्रेपलाञ्चोकमा वसुन्धरा खड्कालाई सरुवा गरिएको छ ।

सिन्धुलीमा विनोद शर्मालाई पठाइएको छ। चितवनमा भावेष रिमाल गएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रञ्जित सिंह राठौर र महोत्तरीमा श्याम कुमार राईलाई सरुवा गरिएको छ। सन्तोष खड्का सिन्धुपाल्चोकमा सरुवा भएका छन्। उनले काभ्रे चाहेका थिए ।