चितवन-२ मा उम्मेदवारी दर्ता २० चैतमा, यस्तो छ निर्वाचन कार्यतालिका

 काठमाण्डौँ - निर्वाचन आयोगले चितवन २ मा हुने उपनिर्वाचनका लागि २० चैतमा उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको छ ।  

१० वैशाखमा हुने उपनिर्वाचनका लागि २० चैतमा उम्मेदवारी दर्ताको समय आयोगले तोकेको हो । उम्मेदवारविरुद्ध २१ गते उजुरी दिन सकिनेछ । २२ गते उजुरुमाथि निर्णय गरी २३ गते निर्वाचन चिह्न दिइने आयोगले जनाएको छ । 

गत ४ मंसिरमा भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका थिए । तर, नागरिकता प्रकरणमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेपछि उक्त क्षेत्रमा उपनिर्वाचन गर्न हुन लागेको हो ।

आयोगले उक्त क्षेत्रका लागि १ फागुनदेखि १६ चैतसम्म मतदाता नामावली अध्यावधिकको कार्यक्रम सञ्चालन गरिरहेको छ ।  उक्त क्षेत्रमा पुनः रास्वपाका सभापति लामिछानेले पनि उम्मेदवारी दिने तयारीमा छन् ।