इजरायलबाट फर्किन थप दुई सय नेपालीको निवेदन, बेपत्ता विपिनको खोजी जारी

काठमाडौँ - युद्धग्रस्त इजरायलबाट स्वदेश फर्किन थप दुई सय जना नेपालीले आफ्नो विवरण टिपाएका छन् । इजरायल–प्यालेस्टाइन युद्ध सुरु भएसँगै तेल अबिबस्थित नेपाली दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो ।

सोही क्रममा थप दुई सय नेपालीले घर फर्किन अनलाइनमार्फतविवरण टिपाएको दूतावासले जानकारी दिएको हो । दुतावासका अनुसार अनलाइनमा नेपालीको विवरण प्राप्त भइराखेको छ । सरकारले इजरायलबाट नेपाल फर्किन चाहाने सबैलाई ल्याउने प्रक्रिया सुरु गरेको छ ।

शुक्रबार बिहानमात्रै पहिलो चरणमा १५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याइएको छ । इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । घाइतेमध्ये एक जना नेपाल फर्किसकेका छन् । अरु तीन जनाको इजरायलमै उपचार भइराखेको छ ।

थप एक जना डिस्चार्जको क्रममा रहेको र बाँकी दुई जनाको उपचार जारी रहेको दूतावासले जनाएको छ । सम्पर्कविहीन भएका विद्यार्थी विपिन जोशीको पनि खोजी कार्य तीव्र पारिएको र मृतकको शव नेपाल पठाउन पहल भइरहेको दूतावासले जानकारी गराएको छ ।