चट्याङ लागेर संखुवासभामा एकजनाको मृत्यु  

काठमाडौँ । संखुवासभाको चिचिला गाउँपालिका–२ आहालेमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ।

गएराति हावाहुरीसँगै आएको वर्षाको क्रममा चट्याङ लाग्दा चिचिला गाउँपालिका– २ स्थित तल्लो आहालेमा ४३ वर्षीया सावित्रा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

बुधबार राति करिब ११ बजे परेको चट्याङ लागेर ४३ वर्षीया गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि बिहीबार जिल्ला अस्पताल ल्याइएको छ।

घटनास्थल सदरमुकाम खाँदबारीदेखि तीन चार घण्टाको पैदल दूरीमा पर्दछ। त्यस्तैगरी, चिचिला गाउँपालिकामा अविरल वर्षासँगै आएको पहिराले ५ घर पहिरोको उच्च जोखिममा परेको प्रहरीले जनाएको छ।