'सरकारको विपद पूर्व तयारी सन्तोषजनक भएन' : सांसद भट्टराई

 काठमाडौँ - सत्ता साझेदार नेकपा एमालेका सचिव एवम् सांसद योगेशकुमार भट्टराईले सरकारको विपद पूर्व तयारी सन्तोषजनक नरहेको टिप्पणी गरेका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जलवायु परिवर्तनका कारण पूर्व अनुमान नै गर्न नसक्ने गरी मौसमहरु प्रतिकूल हुँदै जाने, त्यसको असर आम मानिसहरुमा परिरहेको बताए । उनले विपद् पूर्व तयारीबारे सरकारको तयारी सन्तोषजनक नरहेको बताए । 

विपद् प्राधिकरणलाई पर्याप्त बजेट नपुगेको उनले बताए । प्राधिकरणलाई वार्षिक १८ करोड रुपैयाँ छुट्याइएको र १५ करोड साधारण खर्च रहेको भन्दै प्राधिकरणले सो बजेटमा कुनै काम गर्नसक्ने अवस्था नरहेको बताए । विपद् उद्धारका लागि दक्ष जनशक्ति र पर्याप्त श्रोत साधन पनि नरहेको बताए ।