सरकारले सबै जमिन आफ्नो मातहत ल्याउने नीति बनाउनुपर्छ : मेटमणि चौधरी  

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले सबै जमिनलाई सरकारको मातहत ल्याउने नीति बनाउनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।

प्रमुख सचेतक चौधरीले जमिनबाट आम जनताको शोषण भइरहेकाले पनि सरकारले उनीहरूलाई न्याय दिन सबै जमिन आफ्नो मातहत ल्याउनुपर्ने आवश्यकता औंल्याए ।

जमिनको माध्यमबाट जनतामाथि चरम शोषण भएको र वास्तविक किसानले श्रमको मूल्य पाउन नसकिरहेको अवस्थामा सरकारले सबै जमिनलाई आफ्नो मातहत ल्याउन आवश्यक रहेको उनको भनाइ थियो । सरकारले सो जमिन कृषि र उद्योगको क्षेत्रमा काम गर्ने आम नागरिकलाई तिरो लिएर लिनुपर्ने योजना पनि प्रस्तुत गरे ।