देशमा विकास हुन नदिन नेपाली कांग्रेसले  ‘स्यालहुँइया’ मच्चाएको ओलीको आरोप

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास हुन नदिन नेपाली कांग्रेसले  ‘स्यालहुँइया’ मच्चाएको आरोप लगाएका छन्।

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेलाई देशका लागि काम गर्न नदिनका लागि कांग्रेसले एमालेमाथि आक्रमण गरिरहेको दावी गरे।

उनले राम्रा काम गर्न नदिन अनर्गल प्रचार गरिरहेको भन्दै पशुपतिमा एक सय ८ केजी सुन भनेर पित्तल चढाए, कम्बोडियामा ३ हजार करोड टेलिकममा लगानी छ भन्नेहरु कता गए भन्दै प्रश्न समेत गरे। उनले अहिले गिरिबन्धु टि स्टेटका बारेमा गलत प्रचार गरेर स्यालहुँइया मच्चाइरहेको जिकिर गरे।

कानून, नियम बिना बलजफ्ती गिरिबन्धु टि स्टेटको जग्गा बेचेकाहरुले अहिले खान नपाएको रिसले कराइरहेको उनको अरोप छ। अध्यक्ष ओलीले वैचारिक संघर्ष गर्न नसक्नेले एमालेमाथि प्रहार गरिरहेको बताए।

उनले भने, ‘अहिले गिरिबन्धु टि स्टेट भनेर कराएका छन्। गिरीबन्धु टि स्टेटमा एक पटक ५१ र अर्को पटक १९ बिगाहा गरेर ७० बिगाहा कानून, नियम बिना बलजफ्ती बिक्री गरेर खाएका थिए। तिनै तत्वहरुले खाएका थिए। गिरिबन्धु टि स्टेटलाई बेथिति गर्न पाइँदैन भनेर कानून हामीले बनायौँ, कानून बनाएपछि नियम कानूनभित्र बस्नुपर्‍यो, बेचेर खान नपाइने भयो भनेर स्यालहुँइया मच्चाएका छन्। केपी ओलीले त्यो र यो गर्‍यो भनेर।