शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नै पर्छः उपप्रधानमन्त्री श्रेष्ठ  

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नुपर्ने बेला भएको बताएका छन्।

काठमडौँमा बिहीवार डिआर पौडेलेको पाँचौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी रहेको बताए। उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी रहेको बताए।

उनले राष्ट्रिय सहमति कायम गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापित गर्ने काम गर्नुपर्ने आजको आवश्यकता रहेको पनि बताए।

उनले भने, ‘शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नैपर्छ। शान्ति प्रक्रियाको दुई महत्वपूर्ण कार्यभार हामीले गरिसकेका छौँ। राजनीतिक कार्यभार, परिवर्तनलाई संस्थागत गर्ने कार्यभार र माओवादी जनमुक्ति सेनाको समायोजन प्रक्रिया पुनःस्थापना गर्ने कार्यभार पूरा गरेका छौँँ । यो राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर आर्थिक र सामाजिक क्षेत्रमा यसलाई बिस्तारित गर्नुपर्छ। र सामाजिक आर्थिक रुपान्त्रण गर्नुपर्छ। विकास र समृद्धिको प्रक्रियालाई तिब्र पार्नुपर्छ।’

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले चुनौती र अवसरलाई सम्हालेर अघि बढ्नु नै अहिलेको राष्ट्रिय कार्यभार रहेको बताए। उनले नेपालमा अहिले सांस्कृतिक र वैचारिक भ्रष्टीकरण व्याप्त रहेको बताए।