बाढीले ताप्लेजुङमा काठेपुल बगायो  

काठमाडौँ । ताप्लेजुङमा बाढीले एउटा काठे पुल बगाएको छ । बिहीबार बिहान साढे ६ बजे फक्ताङलुङ गाउँपालिका - ५ तापेथोकस्थित शिसवा खोलाले काठे पुल बगाएको गाउँपालिकाका सूचना अधिकारी जयप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार सवारीसाधन समेत गुड्ने गरेको उक्त काठे पुल बाढीले बगाएको हो । गएरातिदेखि परेको वर्षका कारण खोलाको बहाव बढेको थियो ।

पानी रोकिसकेको भएपनि बिहानपख खोलामा लेदोसहित आएको बाढीले पुल बगाएको हो । यस बाढीले कुनै मानवीय क्षति भने भएको छैन । बाढीले पुल बगाएपछि त्यसको मारमा विद्यार्थी परेका छन् । ‘अर्को ठाउँबाट खोला तर्न आधाघन्टा माथि झोलुंगे पुलमा पुग्नुपर्छ,’ उनले भने ।

सोही खोला मिसिएको ठाउँमा तमोर नदी थुनिएको उनले बताए । यद्यपि अहिले खोला विस्तारै खुल्दै गएको छ ।