मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि पुनः रोकिने 

 काठमाण्डौँ - उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि पुनः रोकिने भएको छ । मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर पदम कुँवरले आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द गरिने जानकारी दिए । 

“गेट नम्बर ९ मा रहेको हेडवक्र्समा नयाँ सिलिन्डर जडान गर्नुपर्ने छ । त्यसका लागि पानीको प्रवाह नै बन्द गर्नुपर्ने हुन्छ । पोहोर सालको बाढीले सिलिन्डर बिगारेको थियो,” उनले भने, “गेट नम्बर १ मा पनि जाली राख्नुपर्ने छ । गत वर्ष फलामको पाता राखेर पानी बन्द गरिएको थियो ।’’

उहाँले ठुलो बाढी आएको बेला सुरक्षित रूपमा आयोजनालाई बन्द गर्न मिल्ने र सामान्य बाढी आएको बेला आयोजनालाई सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको जानकारी दिए । उनले मर्मत सम्भारपछि पानी वितरण कार्य पुनः नियमित रूपमा सुरु गरिने बताए ।