यो वर्षकै न्यून बिन्दुमा पुग्यो मूल्य वृद्धिदर !

 काठमाडौँ - बजार महँगी यो वर्षकै न्यून बिन्दुमा आइपुगेको छ । उपभोक्तामा आधारित मुद्रास्फिीति साढे चार प्रतिशत बिन्दुमा आइपुगेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । चैत मसान्तसम्ममा आइपुग्दा बजार महँगी ४.६१ प्रतिशत कायम भएको छ । केही महिनाअघिसम्म ७ प्रतिशत माथि रहेको मुद्रास्फीति पछिल्लो समय निरन्तर घटी रहेको छ ।

नेपालमा महँगी गत असोजपछि लगातार घटेको देखिन्छ । असोजमा महिनामा मूल्य वृद्धिदर ७.५० प्रतिशत थियो । तर, त्यसपछि भने घट्दै आएको छ । गत कात्तिकमा ५.३८ प्रतिशत, मंसिरमा ४.९५ प्रतिशत, पुसमा ५.२६ प्रतिशत, माघमा ५.०१ प्रतिशत र फागुनमा ४.८२ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार महँगी नियन्त्रण सरकारको लक्ष्य अनुसार नै नियन्त्रण भएको छ । चालु आर्थिक वर्षमो सरकारले बजार महँगी साढे ६ प्रतिशत भित्र राख्ने लक्ष्य लिएको छ । यसले नेपालको मूल्यवृद्धिदर नियन्त्रणमै रहेको देखाउँछ ।

आयातमा केही सङ्कुचन देखिएको छ । तर, पनि रेमिट्यान्स भने दोहोरो अंकले बढेको छ । ९ महिनामा १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा १९.८ प्रतिशत बढी हो ।

राष्ट्र बैंकको आँकडाले अर्थतन्त्रका बाह्य क्षेत्र निरन्तर सुधार हुँदै देखाएको छ । चालु खाता पनि १ खर्ब ७९ अर्ब ४८ करोड बचतमा छ । सोधनान्तर स्थिति अर्थात् देशबाट बाहिरिने र भित्रिने विदेशी मुद्राको अन्तर पनि बचतमै छ ।

समिक्षा अवधिमा सोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा देखिएको छ । अर्को तर्फ विदेशी विनिमय सञ्चिति पनि १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको छ । यसले पनि बजार महँगी नियन्त्रण गरेको बताइन्छ । भारतमा पनि उपभोग्य वस्तुको मुद्रास्फीति ४.८५ प्रतिशत छ । अघिल्ला महिनाहरुमा भने भारत पनि महँगी ५ प्रतिशत माथि नै थियो । तर, अहिले घट्दै गएको छ । यसले नेपालको मुद्रास्फीति यो वर्षकै न्यून बिन्दुमा आइपुगेको छ ।

राष्ट्र बैंकका अनुसार चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २२.६४ प्रतिशत बढेको छ । यस्तै, तरकारीको १६.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.९४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.५९ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ६.०६ प्रतिशतले बढेको छ । यता, घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १०.१० प्रतिशतले घटेको छ ।