कांग्रेसलाई ओलीको प्रश्न : प्रधानमन्त्रीलाई अहिलेचाहीँ विश्वासको मत किन नदिने ?   

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अहिले विश्वासको मत किन नदिने ?’ भन्दै नेपाली कांग्रेसलाई प्रश्न गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा उनले पहिले आफूले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा कांग्रेसले विश्वासको मत दिएको स्मरण गरे ।

‘पोहोर साल मैले प्रस्ताव गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूलाई प्रधानमन्त्री बनाएको थिएँ । नेपाली कांग्रेस भोट नै नमागीकन हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ बेट्री हालेका जस्तो थियो । समर्थन गरेको थियो,’  उनले भने, ‘अहिलेचाहिँ किन समर्थन नगर्ने भन्या ? पोहोर समर्थन गर्न हुने । उफ्रीउफ्री भाषण गर्नुभएको थियो । यसपटक के भो त्यस्तो फेरि ?’

गत वर्ष प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।