गठबन्धनबाट जनताका दुःख पार लाग्नेकुरा सोच्न सकिँदैन् : माधव नेपाल

काठमाडौँ ।  सत्तारूढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्नेकुरा सोच्न नसकिने बताएका छन्।

सोमबार नेकपा एकीकृत समाजवादी मधेश प्रदेश कमिटी बैठकलाई जनकपुरधाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको बताए।

उनले शक्ति सन्तुलनका लागि मात्रै अहिलेका गठबन्धनमा राजनीतिक दलहरूको एकतालाई बलियो बनाइएको पनि बताए । अध्यक्ष नेपालले वर्तमान गठबन्धनलाई कसैले ढाल्न नसक्ने दाबीसमेत गरे।

उनले भने, ‘गठबन्धनलाई कसैले ढाल्न सक्दैन। अहिले कुनै विकल्प छैन। अध्यक्ष नेपालले आफ्नो पार्टीले नेकपा एमालेलाई शत्रु नठानेको भन्दै आफूलाई नोक्शान पुर्‍याउन खोजेमा प्रतिवाद मात्रै गर्ने गरेको पनि बताए।