'जनयुद्ध’मा सहभागीहरुलाई अली बढी हेपाइ भयो' : प्रधानमन्त्री दाहाल

काठमाडौँ - प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्ध’मा सहभागी नेता–कार्यकर्तालाई हेप्ने र अपमानित गर्ने काम भइरहेको भन्दै ‘जनयुद्ध’मा सहभागी सबैलाई एकजुट बन्न अपिल गरेका छन् । सबै माओवादी शक्ति एक बन्ने अवस्थामा आफू नेतृत्व छाड्न तयार रहेको उनको भनाई छ ।

मंगलबार काठमाडौंमा आयोजित माओवादीको विधान सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीले टाउको उठाउन खोजको भन्दै तिनको प्रतिवाद गर्न एकजुट हुनुपर्ने बताए । 

भने, ‘कोही कामरेडहरू आउनुहुन्छ र तर्कसहित, तथ्यसहित भन्नुहुन्छ भने मलाई फेरि नेतृत्वमा बसिराख्ने कुनै लोभ छैन, यो कुरा पनि म प्रष्ट भन्न चाहन्छु । फेरि यो मोर्चालाई एकताबद्ध गरौं । प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीले टाउको उठाउन खोजेका छन्, तिनको प्रतिवाद गरौं, सबै एक हौं ।’

प्रचण्डले नेपालमा विगतमा भएका सङ्घर्ष क्रान्तिको अध्ययनका आधारमा जनयुद्धलाई अघि बढाएको उल्लेख गरे ।