एमालेको संकल्प यात्रा कोशी प्रवेश : अवरोध नपुर्‍याउन पहिचानवादीलाई आग्रह

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रामा अवरोध नगर्न अपिल गरेको छ ।
आजबाट कोशी प्रदेश प्रवेश गर्न लागेको संकल्पयात्रामा पहिचानवादीहरूले अवरोध गर्ने चेतावनी दिइरहेका बेला एमालेले यात्रामा अवरोध नगर्न पहिचान पक्षधरलगायत सबैलाई अपिल गरेको हो ।

‘एमालेको संकल्प यात्रा घुर्मी भएर कोशी प्रदेश प्रवेश गर्दैछ । यसक्रममा केही समूहहरू द्वारा हाम्रो अभियानलाई अवरोध गर्ने गरी सडक बन्द, प्रदेश बन्द लगायतका बन्द र अवरोधका कार्यक्रमहरू सार्वजनिक गर्ने भन्ने सुनिन आएको छ । त्यसका निम्ति पार्टीका तर्फबाट औपचारिकरूपमा सबै समूहहरू, पहिचानवादी समूहलगायतका सबैलाई अभियानलाई अवरोध नगर्न बन्द नगर्न, अभियानमा सहयोग पुर्‍याउनका निम्ति अपिल गर्न चाहन्छु,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।

नेकपा एमालेको अभियान विकास र समृद्धिको अभियान भएकाले यस्ता अभियानमा अवरोध सिर्जना नगर्न र अभियानमा सहयोग पुर्‍याउन गौतमको आग्रह छ । कोशी प्रदेश नामकरणमा एमालेसहित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि सहभागी भएकाले आफ्नो पार्टीलाई मात्र निशाना बनाई गरिने अवरोध लोकतान्त्रिक हुन नसक्ने उनले बताए ।