तिहारमा पनि सर्वोच्च अदालत खुल्ने

काठमाडौँ - तिहारको बिदामा पनि सर्वोच्च अदालतले अत्यावश्यक सेवा दिने भएको छ ।

बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सर्वोच्च अदालत तिहार बिदामा समेत खुला रहने भएको हो ।

सर्वोच्च अदालतले आजदेखि बिहीबारसम्मका लागि न्यायाधीशहरुलाई जिम्मेवारी तोकेको छ ।

सर्वोच्च अदालतका अनुसार आज न्यायाधीश प्रकाशमान सिंह राउत, कात्तिक २७ गते सोमबार न्यायाधीश सपना प्रधान मल्ल, कात्तिक २८ गते मंगलवार न्यायाधीश हरिप्रसाद फुयाँल र कात्तिक ३० गते बिहीबार न्यायाधीश कुमार रेग्मीलाई जिम्मेवारी तोकिएको छ ।

कात्तिक २९ गते भाइटीकाको दिन भने अदालत बन्द रहनेछ ।

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इजलास रहनेछ ।