ओलीको बहकाउमा लागेर कांग्रेसलाई धोका दिएँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा अध्यक्ष केपी शर्मा ओलीको बहकाउमा लागेर आफूले कांग्रेससहितको गठबन्धन तोडेको बताएका छन् ।

शुक्रबार विश्वासको मत लिने क्रममा सदनलाई सम्बोधन गर्दै उनले वामपन्थी आन्दोलनको भावुक बहकाउले नै एमालेसहितको गठबन्धनमा लगेको बताए ।

“यसमा एमाले अध्यक्ष कला क्षमता तारिफ गर्न लायक छ । उहाँको हैसियतको अरु यहाँ कोही पनि छैन । मलाई राम्रो फकाउनु भयो । वामपन्थी मिल्नपर्छ । कांग्रेस को हो ? यस्तै यस्तै धेरै ,” उनले भने, “म मान्छे यस्तै हुँ  । प्रचण्ड यस्तै छ चिन्नुभएकै छ । अलिअलि सेन्टिमेन्टल भावुक । मिठो बोलेपछि होला त नि भनेर विश्वास गरेँ । फेरि म वामपन्थी नै परेँ । अर्को चुनावमा पश्चिम वंगालजस्तो भइन्छ भनेपछि हो भन्ने लाग्यो ।”

केपी ओलीप्रति संकेत गर्दै उनले केही मान्छेहरू कहिल्यै कुण्ठा र प्रतिशोधबाट निस्किन नसक्ने बताए ।