विश्वासको मत सङ्ख्या मात्रै होइन, प्रतिवाद र प्रतिरोधको पहल हो : प्रधानमन्त्री  

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्नु आग्रह गरेका छन् ।

समावेशीतालाई खारेज गर्ने मनासायले नयाँ गठबन्धन बनेको उल्लेख गर्दै उनले सम्पूर्ण महिला, दलित, जनजाति, मधेशी, अल्पसङ्ख्यकलाई सम्मान गर्नेगरी संविधान संशोधन गर्न प्रस्ताव गरे ।

उनले भने, ‘हिजो जसको प्रतिनिधित्व केवल प्रतीकात्मक र निरङ्कुश शासकहरूको दयामा निर्भर थियो, आज त्यो सुनिश्चित र अधिकारपूर्ण छ । हिजो महिला प्रतिनिधित्व राज्य र दलहरूको विमर्शको विषयसम्म थिएन, आज केन्द्र र प्रदेशमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्व संविधानबाटै सुनिश्चित भएको छ ।’

प्रधानमन्त्री प्रचण्डले अस्थिरताका कारण देखाएर समावेशी र समानुपातिक प्रतिनिधित्व अनि साना दलहरूको अस्तित्व समाप्त पार्न खोजेको कि भन्ने शङ्का गरे । प्रधानमन्त्री प्रचण्डले भने, ‘यो सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो । साथ दिने नदिने तपाईहरूको विवेकको विषय भयो तर मलाई जनताप्रति भरोसा छ, जनताको साथ प्राप्त हुनेछ ।’