थप तीन दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

काठमाडौँ - जनमत, जसपा र राप्रपाले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेका छन्। आज बिहीबार दलहरुले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारे निर्णय लिएका हुन् ।

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले बिहीबार बसेको पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिए। प्रतिनिधि सभामा जनमतका छ सांसद छन् ।

जनमतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले बीच भएको समझदारीअनुरुप नयाँ गठन हुने सरकारलाई समर्थन गर्ने निर्णय समेत गरेको छ । 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ । सो पार्टीको बिहीबार भएको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

साथै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।