एमाले - कांग्रेस लक्षित प्रचण्डको धम्की : ‘जनताको अधिकार खोस्ने विषय दिमागबाट निकाल्नुस्’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनको विषयलाई लिएर धम्की दिएका छन् । उनले संविधान लामो संघर्ष र त्यागबाट बनेको भन्दै अधिकार खोस्ने प्रयास गरे भूइँमान्छेको प्रतिरोध खेप्नुपर्ने बताए ।

“तपाईंहरू मिल्नुस्, केही छैन । पहिलोपटक मिल्नुभएको पनि होइन, अन्तिमपटक मिल्नुहुने पनि होइन,” प्रचण्डले धम्कीपूर्ण भाषामा भने, “तर, जनताका अधिकार खोस्ने विषय दिमागबाट निकाल्नुस् । अधिकार उपभोग गरिसकेको जनताका उपलब्धि खोस्न सजिलो हुँदैन । हिजो निदाएको सीमान्त वर्गमाथि जति शासन गर्नुभयो, त्यो गर्नुभयो । अब युद्ध, विद्रोह र आन्दोलनको भट्टीले त्यो वर्गलाई जगाएको मात्र छैन, राप र तापसहित इस्पात बनाइसकेको छ ।”

प्रचण्डले उत्पीडित वर्ग, जाति र समुदायका जनताको त्याग, तपस्या र बलिदानबाट अहिलेका उपलब्धि प्राप्त भएको भने सजिलै खोस्न नसक्ने उने बताए ।

“त्यो प्रयास भयो भने संसद् र सडकमा ठूलो प्रतिरोध हुनेछ । प्रचण्डसँग रिस फेर्ने कुण्ठामा सीमान्त वर्ग र समुदायलाई जिस्क्याउने गल्ती नगर्नुहोस्,” प्रचण्डले भने, “भूइँ मान्छेहरूको प्रतिरोध र विद्रोहको तागत आफ्नै जीवनकालमा आफ्नै आँखाले देखिसक्नुभएको छ । त्यही अवस्था फेरि ननिम्त्याउनुहोस् ।” 

उनले सिमान्तकृतका अधिकार खोस्न खोजे हिजोजस्तो क्रान्तिको शक्ति लिएर शान्तिको ढोका खोल्ने प्रचण्डले चेतावनी दिए । “क्रान्तिको शक्ति लिएर शान्तिको ढोका खोल्ने प्रचण्ड छिट्टै  फेरि नजन्मिन पनि सक्छ,” प्रचण्डले भने, “तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महङ्गो पर्न सक्छ ।” 

उनले वर्तमान संविधानको समावेशिताको रचनागर्भ सामान्य नरहेको भन्दै जनताको त्यागबाट आएको यो उपलब्धि नचलाउन पनि चेतावनी समेत दिए ।