संविधान संशोधनको खेलाँची नगर्न प्रचण्डको चेतावनी   

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनको खेलाँची नगर्न कांग्रेस एमालेलाई चुनौती दिएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले दुई दल २०४७ सालतिरै फर्कन खोजेको बताए । 
 
उनले भने,  ‘निराधार आरोप लगाएर दुई प्रतिस्पर्धी पार्टी बढो रहस्यमय तरिकाले आज भएका ठाउँमा उभिनुभएको छ । कतै स्थायित्वको नारा दिनुभएको छ, कतै संविधान संशोधनको छिर्के हान्नुभएको छ, गर्नु के भएको हो ? आधिकारिक हस्ताक्षर बाहिर ल्याउनुभएकै छैन । साथीहरूलाई मेरो प्रश्न छ, संविधान संशोधन जस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्नुहोला । तपाईंहरुको जस्तै तरिकाले जनताको स्वीकार्यता पाउँछ रु राष्ट्रियसभाको सबैभन्दा ठुलो दल हो माओवादी केन्द्र । त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन रु कतै स्थिरताको नाममा तपाईंहरुले समावेशी, समानुपातिक प्रणाली समाप्त पार्न खोजेको गन्ध आएको छ । तपाईंहरुको इच्छा २०४७ सालतिरै फर्किने होला भन्ने लाग्छ मलाई ।’ 
 
उनले अस्थिरताको कारण देखाएर समानुपातिक अनि समावेशी प्रतिनिधित्व हटाउन खोजेको र र साना दलहरूलाई निषेध गर्न खोजेको बताए ।  उनले साना दलहरू आज कांग्रेस एमालेतिर गए पनि भोली थाहा पाउने उल्लेख गरे । उनले संविधान संशोधन गरेर कांग्रेस एमालेले दलित, महिला लगायतले पाइरहेका अधिकार खोस्न खोजेको दाबी गरे ।