प्रधानमन्त्रीलाई कांग्रेस र एमालेमा मात्रै धुलो नदेख्न कांग्रेस सचेतक लेखकको आग्रह 

काठमाडौँ  । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानलाई चलायमान बनाउन निरन्तर समीक्षाको आवश्यकता रहेको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

 उनले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस र एमालेमा मात्रै धुलो नदेख्न आग्रह समेत गरे । उनले अब एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरिसकेको जानकारी दिए ।

छलफलका क्रममा उनले संविधानमै १० वर्षपछि पुनरवलोकन गर्न सकिने व्यवस्था रहेको बताउँदै संविधान आफैँले पुनरवलोकन गर्न भनेकोमा पश्चगमन हो भनी प्रश्न गरे । 

लेखकले भने, “के संविधान छुनै नहुने विषय हो । संविधान पाठ गर्नका लागि लेखिएको पुस्तक हो ? होइन । संविधानको धारा २६५ ले यस भागमा लेखिएको विषयहरूको बारेमा १० वर्षपछि पुनरवलोकन गर भन्छ,” उनले भने ।

सहमतिका आधारमा संविधान संशोधन गर्न पहल कसैले लिनुपर्ने भएकाले आफूहरूले त्यसको नेतृत्व गरेको उनले बताए ।
लेखकले संविधान संशोधनको विषयमा अरूलाई निषेध नगरिने बताए ।