प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

 काठमाडौँ - प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन् ।

नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिनुपरेको सम्भवतः यो पहिलो घटना हो । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । दुवै ठुला दलले आलोपालो सरकारको नेतृत्व लिने गरी सरकार गठनको सहमति र निर्णय गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको पक्षमा माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी मात्र देखिएका छन् । यी तीन दलको मात्र ६३ सिट रहेको छ । कांग्रेस, एमाले, राप्रपासहितका अन्य साना दलहरू विपक्षमा उभिएकोले प्रचण्डले विश्वासको मत पाउने सम्भावना देखिएको छैन ।