सालीको ऋण तिर्न दम्पतीको हत्या गरी सुन र पैसा लुटपाट  

काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर ४ तीनखुट्टेमा दम्पतीको हत्यारालाई प्रहरीले सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यालय काभ्रेले बुधबार पत्रकार सम्मेलन गरेर मानबहादुर बल र श्रीमती केकै माया तामाङको हत्यामा संलग्न रहेको आरोपमा एक जना पुरुषलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेलमा पत्रकार सम्मेलन गर्दै तीनखुट्टेमा जेठ ७ गते भएको दम्पती हत्यामा संलग्न ३८ वर्षीय एकेन्द्र सार्कीले लुटपाटका क्रममा   दम्पतिको हत्या गरेको खुलेको छ । काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार दम्पतीको हत्यामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका(१ घर का ३८ वर्षीय एकेन्द्र सार्कीले संलग्नता स्वीकारेका छन् ।

उक्त घटनापछि हत्यामा संलग्नको खोजीका लागि प्रहरीले ‘अप्रेशन महाभारत’ चलाएको थियो । एसपी खड्काका अनुसार एकेन्द्रले जेठ ७ गते राति फलामको रड र घन लगायत घरेलु औजारले हानेर दम्पतीको ज्यान लिएका थिए । हत्यापछि एकेन्द्रले सुनका गरगहना, दम्पतीको पसलमा रहेको रिचार्ज कार्ड र केही नगद रकमसमेत लुटेर लगेका अनुसन्धानबाट खुलेको खड्काले बताएकी छन् ।

पक्राउ परेका एकेन्द्रले आफ्नो आर्थिक अवस्था कमजोर रहेको र ऋण तिर्न नसकेकाले पैसा जुटाउन लुटपाटका क्रममा उक्त घटना भएको बयान दिएका छन् । उनको आर्थिक अवस्था कमजोर रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ३ लाख रूपैयाँ ऋण रहेको र सालीको ऋण यही जेठभित्रै तिर्नुपर्ने भएकाले एकेन्द्रले पैसाको जोहो गर्न यो घटना घटाएको पाइएको एसपी खड्काले बताइन् । तर प्रहरीले एकेन्द्रलाई कति ऋण लागेको थियो भन्ने कुरा खुलाएको छैन ।

काभ्रे प्रहरीले तेमाल गाउँपालिका- २ काफलडाँडास्थित चुखाबाट तीनपीपल जाने कच्ची सडक खण्डमा ५७ वर्षीया साहिँली तामाङलाई फलामको रडले हत्या गरेको प्रकरणका अभियुक्त पनि सार्वजनिक गरेको छ ।

साहिँलीलाई शरीरको विभिन्न भागमा रडले हानेर विभत्स रुपमा हत्यामा संलग्न भएको अभियोगमा त्यही ठाउँका ५७ वर्षीय मानध्वज तामाङलाई प्रहरीले बुधबार नै सार्वजनिक गरेको हो ।